देशका खातिर बहिरा र लाटो बोल्नु पर्छ।

~~~~~~~~गजल~~~~~~~~
ढुङ्गा बोल्नु पर्छ अब माटो बोल्नु पर्छ,
देशका खातिर बहिरा र लाटो बोल्नु पर्छ।

द्वन्दको घाउ भित्र भित्रै दुख्छ कहिलेसम्म,
घाउ बोल्नु पर्छ अझ खाटो बोल्नु पर्छ।

देशको मुहार फेर्छु भन्दै शहिद हुनेहरुको,
सडकमा बगेको रगतको टाटो बोल्नु पर्छ।

कतै हेर सुखै सुख कतै दु:खै दु:ख कति,
सुख दु:ख बिचको अब पाटो बोल्नु पर्छ।

दबाइएका पिल्सिएका आवाज उठनु पर्छ
सर्वहारा र निमुखाको साटो बोल्नु पर्छ।

नेपालको भबिश्य संघियता हो कि होइन
सरल कठिन यात्रा कस्तो बाटो बोल्नु पर्छ।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-भदौ २४ गते सोमबार

0 comments :